प्रधानमन्त्री ओली कञ्चनपुरमा, सुरक्षा व्यवस्था कडा पारियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार महेन्द्रनगर जाँदैछन् ।

कञ्चनपुरको बेदकोट नगरपालिका स्थित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यासका लागि नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली महेन्द्रनगर जाने भएपछि कञ्चनपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रधानमन्त्री जाने भएपछि आइतबारदेखि नै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले प्रधानमन्त्रीको आवागमनलाई मध्यनजर गर्दै जिल्लामा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।

करिब १२ सयको हाराहारीमा सुरक्षाकर्मी खटिएका छन् । कार्यक्रमस्थलमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको बाक्लो उपस्थिति छ ।

प्रधानमन्त्री ओली आज काठमाण्डुबाट श्रीएयरलाइन्सको पहिलो उडानमार्फत धनगढी विमानस्थलमा अवतरण गर्ने कार्यक्रम तय भएको नेकपाले जनाएको छ ।

उनी केहीबेर धनगढीमा आराम गरेर नेपाली सेनाको हेलीकोप्टर मार्फत दैजीछेला औद्योगिक क्षेत्रमा सहभागी हुने छन् । प्रधानमन्त्री ओलीले दिउँसो १ बजे दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम छ ।

कार्यक्रमका लागि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट हिजो नै पुगिसकेका छन् भने प्रधानमन्त्रीसँगै सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना, वन तथा वातावरण मन्त्री प्रेम आले र श्रम मन्त्री गौरीशंकर चौधरी आज कार्यक्रममा सहभागी हुदैछन् ।