काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपालका लागि अमेरिकाका नवनियुक्त राजदूत डिन रिचार्ड थम्पसनले शिष्टाचार भेट गरेका छन् । आफ्नो कार्यकालको सुरुवातमै प्रधानमन्त्री देउवासमक्ष उनले नेपालको आर्थिक विकासमा सघाउँदै दुईपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन भूमिका खेल्ने विश्वास दिलाएका छन् ।
सो भेटवार्तामा दुई देशको औपचारिक कूटनीतिक सम्बन्धको लामो इतिहास स्मरण गर्दै विविध मुद्दामा थप साझेदारी गर्न पहल गर्ने राजदूत थम्पसनले प्रतिबद्धता जनाएका छन् । उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग समेत शिष्टाचार भेट गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो क्रममा नेपाल–अमेरिका र विश्व समुदायका महत्त्वपूर्ण मुद्दामा थप सहकार्य गरेर अघि बढ्ने विषयमा छलफल भएको मन्त्रालयको भनाई छ ।