काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा वर्तमान कार्यकालको पहिलो विदेश भ्रमणका सिलसिलामा बेलायत प्रस्थान गरेका छन् । कात्तिक १५ र १६ (नोभेम्बर १ र २) मा ग्लास्गो शहरमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनअन्तर्गत वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बेलायत प्रस्थान गरेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा गृहमन्त्री बालकृष्ण खाँण परराष्ट्रमन्त्री नारायण खड्का, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, मुख्यसचिव शङ्करदास वैरागी,सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखले बिदाइ गरे ।
प्रधानमन्त्री देउवा नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुने छन् । उनले वल्र्ड लिडर समिटमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन साँझ उहाँ बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सहभागी राष्ट्र र सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा उनी सहभागी हुनेछन् । बेलायतमा रहँदा प्रधानमन्त्री देउवाले अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने स्वागत कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्रीले बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिसँग समेत भेट्ने छन् । अक्टोबर ३१ गते प्रधानमन्त्री देउवाको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले सम्मान समारोह आयोजना गरेको छ । प्रधानमन्त्रीको साथमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल, अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की सहभागी छन् ।