प्रधानमन्त्री देउवा र मोदीबीच फोनवार्ता, के विषयमा भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । सोमबार दिउँसो प्रधानमन्त्री देउवा र मोदीबीच कुराकानी भएको प्रधानमन्त्री स्वयमःले सामाजिक संजालबाट जानकारी गराएका छन् । फोनवार्तामा मोदीले प्रधानमन्त्री देउवालाई कोभिड १९ विरूद्धको खोप भारतबाट नेपाल आउने आश्वासन दिएका छन् । देउवाले आज दिउँसो प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनवार्ता गरेको भन्दै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनेबारे छलफल गरेको जनाएका छन् ।

आइतबार प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत पाएसँगै मोदीले टुइटमार्फत बधाई दिएका थिए । उक्त बधाईको देउवाले धन्यवाद रिप्लाई समेत गरेका छन् । भारतले लगातार दुई दिन देखाएको सदासयताबाट नयाँ सरकारसँग समेत भारत सुमधुर सम्बन्ध बनाउन चाहेको रुपमा हेरिएको छ । भारतीय कम्पनीसँग नेपाल सरकारले किनेको खोप नआउँदा करीव १४ लाख जेष्ठ नागरिकले दोस्रो डोज खोज लगाउन पाएका छैनन् ।