काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन भदौ ३० मा अमेरिकाको न्युयोर्क जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण कार्यक्रम स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले प्रधानमन्त्रीको भ्रमण निश्चित भएको जानकारी दिएकी छिन् ।
प्रधानमन्त्री दाहालले न्युयोर्कमा आधा दर्जनभन्दा बढी महत्त्वपूर्ण कार्यक्रममा सहभागिता जनाउने र द्विपक्षीय साइड–लाइन भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जान लागेका हुन् । प्रधानमन्त्री दाहालले असोज १ र २ मा हुने दिगो विकासका लक्ष्यहरू (एसडीजी) सम्मेलनमा नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।
एसडीजी सम्मेलन–२०२३ मा नेपालले आफ्नो प्रगति र समीक्षा गर्नेछ । दाहालले असोज ३ मा यूएनको ७८ औं महासभामा सम्बोधन गर्नेछन् । ‘इलिमिनेट एम्बिसन समिट’, ‘फाइन्डिङ अफ डेभलपमेन्ट समिट’, अतिकम विकसित राष्ट्रहरू (एलडीसी) को अध्यक्षता गर्दै बैठक सञ्चालन गर्ने, ‘पान्डामिक प्रिभेन्सन प्रिपियरनेस एन्ड एस्पोन्स समिट’ तथा स्वास्थ्यसम्बन्धी चार कार्यक्रममा प्रधानमन्त्रीको सहभागिता रहनेछ ।
दाहाल न्युयोर्कबाट नेपाल नआई सिधै चीनतर्फ जाने तयारी छ । मन्त्रिपरिषद्ले चीन भ्रमणको निर्णय भने गरिसकेको छैन । उनले असोज ५ देखि ७ सम्म चीनमा द्विपक्षीय भेटवार्ता गरेर नेपाल फर्कने कार्यक्रम छ । प्रधानमन्त्री असोज ६ देखि हाङचाओमा सुरु हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा अथितिका रूपमा सहभागी हुनेछन् ।
सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ । गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री भएपछि दाहालले जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसपछि उनी इटाली प्रस्थान गरे । साउन ८–१० मा रोममा भएको ‘युनाइटेड नेसन्स फुड सिस्टम समिट–२०२३ स्टकटेकिङ मुभमेन्ट’ मा उनले नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।