प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिने, संसद् बन्यो प्रतिपक्षीविहीन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णय गरेको छ ।

मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

उक्त निर्णयमा दुई महामन्त्रीसहित ४ जनाले लिखित असहमति जनाएका छन् । महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले निर्णयमा लिखित असहमति जनाएका हुन् ।

प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम यही पुस १० गते आफू प्रधानमन्त्रीमा नियुक्त भएको र त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार उक्त विषय बैठकको कार्यसूचीमा समावेश गर्न अनुरोध गरेका थिए।

सोही अनुसार कार्यसूची तय भएको ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सदनलाई जानकारी गराएका थिए।