प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, २६८ सांसदको समर्थन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मतको प्रस्ताव पेस गरेका थिए।

मंगलबार भएको मतदानमा विश्वासको मतको पक्षमा २६८ मत परेको थियो। यस्तै विपक्षमा २ मत परेको थियो। बैठकमा २७० जना उपस्थित थिए । संसदको अध्यक्षता गरेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले प्रचण्डलाई दुईतिहाइभन्दा धेरै बहुमत मिलेको घोषणा गरे।

प्रधानमन्त्रीलाई उनको दल नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र सांसदहरु अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले मत दिएका छन् ।

मंगलबार १ बजे सुरु भएको बैठकमा प्रधानमन्त्रीले विश्वासको मत माग्ने प्रस्ताव पेश गरेका थिए। प्रस्तावमाथि छलफलमा भाग लिँदै अधिकांशले मत दिने बताएका थिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा संसदीय दलका नेता प्रचण्ड पुस १० गते (आइतबार) संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए।