प्रधानमन्त्री र जसपाबीचको छलफल ‘निष्कर्ष विहीन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीचको भएको छलफल बिना निष्कर्ष टुंगिएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री ओली र जसपा नेताहरुबीच बालुवाटारमा भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएको छलफलमा सहभागी जसपा नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।

उनले भने, ‘आजको छलफलमा पनि पुरानै कुरा दोहोरिए, कुनै सहमति हुन सकेन ।’ आजको छलफलमा प्रधानमन्त्री ओलीले जसपा नेताहरुलाई सरकारलाई संसदमा समर्थन गर्न र तत्काल सरकारमा सहभागी हुन आग्रह गरेको उनले बताए ।

जसपा नेताहरुले भने आफ्ना माग पुरा हुनुपर्ने पुरानै अडान दोहोर्‍याएका थिए । नेता कर्णले आफूहरुले माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने स्पष्ट जवाफ दिएको बताए ।

नेता कर्णले भने, ‘हामीहरुले रेशम चौधरीको रिहाइलगायतका हाम्रा ५ बुँदे माग राख्यौँ । हामीले प्रधानमन्त्रीलाई तपाईंलाई समर्थन गर्नुपर्ने भए हाम्रा माग पहिला पूरा गर्नुहोस् अनि सोचौंला, भन्यौँ ।’

भेटमा जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण सहभागी थिए भने प्रधानमन्त्री ओलीसँग एमाले नेता सुवास नेम्बाङ, प्रधानमन्त्रीका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार राजन भट्टराईलगायत उपस्थित थिए ।