प्रधानसेनापति थापाले लगाए कोरोना खोप

काठमाडौं । संसारका अधिकांश मुलुकमा उच्च पदस्थ अधिकारीबाट कोरोना खोप लगाएर खोप अभियानको शुरुवात गरिएको छ । तर, नेपालमा भने राष्ट्रपति, प्रधानमन्त्रीदेखि उच्च सरकारी अधिकारीले खोप लगाएनन् । तर, प्रधानसेनापति पूर्णचन्द्र थापाले सोमबार कोरोना विरुद्धको खोप लगाउँदै खोप सुरक्षित रहेको सन्देश दिएका छन् । उनले भारतबाट अनुदानमा आएको कोभिसिल्ड खोप लगाएका हुन् ।

थापाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर खोप लगाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ । उता, अन्य सुरक्षा निकायका प्रमुखले भने अझै खोप लगाएका छैनन्। नेपालमा पहिलो चरणको खोप अभियान पुरा भइसकेको छ ।

यद्दपी अनुदानमा आएको खोप पुरै खपत नभएपछि सरकारले खोप वितरण भने जारी राखेको छ । अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कोभिड– १९ रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मी र पत्रकारलाई पहिलो प्राथमिकतामा राखी खोप लगाइएको छ । अब सांसद र संसद सचिवालयका कर्मचारीलाई खोप लगाउने कार्यक्रम रहेको छ ।