प्रधानसेनापति थापा र प्रधानन्यायधीश जबराबीच भेटवार्ता

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला अन्तिम चरणमा छ।

फैसला आउने मिति नजिकिँदै गर्दा अवस्थामा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच आकस्मिक भेट भएको छ। फागुन १३ गतेभित्र संसद विघटन सम्बन्धी मुद्दाको फैसला आउने अनुमान गरिएको छ।

सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नु अर्थपूर्ण मानिएको छ ।

प्रधानसेनापति थापा सर्वोच्चले नयाँ भवन बनाउने स्थानमा नेपाली सेनाको केही जग्गा परेकोले त्यससम्बन्धी छलफल गर्न अदालत गएका नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी सन्तोषबल्लभ पौड्यालले पुष्टि गरे।

अहिलेको भवनको पछाडि सर्वोच्च अदालतको नयाँ भवन बन्दैछ। ‘नेपाली सेनाको जग्गा रहेकाले सोही विषयमा छलफल गर्न जानुभएको हो,’ पौडेलले भने, ‘प्रधानन्यायाधीशज्यूसँग भेट भए नभएको चाहिँ आफूलाई थाहा छैन्।’

तर, प्रधानसेनापति थापा र प्रधानन्यायाधीश जबराबीच भेट भएको सर्वोच्च अदालत स्रोतले दाबी गरेको छ। यस्तो समयमा प्रधानन्यायाधीश र प्रधानसेनापतिको भेटले राजनीतिक वृत्तमा समेत तरंग पैदा गरिदिएको छ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको पक्षरविपक्षको बहस ७ फागुनमा सकिएको थियो। मंगलबारदेखि हेर्दाहेर्दैमा सुनुवाई हुँदैछ।

गत ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

संसद विघटनको निर्णयसँगै सत्तारुढ दलकै विभाजित प्रचण्ड माधव समूहले विरोध गर्दै आइरहेका छन्।