काठमाडौं । प्रधानसेनापति महारथी पर्भुराम शर्मा औपचारिक भ्रमणका लागि लेवनान उडेका छन् । सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा आज लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्नुका साथै यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिन शर्मा लेवनान गएका हुन् । प्रधानसेनापति शर्मा नेतृत्वको भ्रमणदललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाइ गरेका छन् ।
भ्रमणदलले यही असार १० गतेसम्म यूएनको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ मिसनहरूको निरीक्षण, मिसनको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्थालगायतको जानकारी लिनेछ । भ्रमणको क्रममा, प्रधान सेनापति महारथी शर्माले लेवनान, सिरियाका विभिन्न मिसनका उच्च पदस्थ अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको छ ।यो भ्रमण सकेर प्रधानसेनापति शर्माले यही असार १३ गते संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा जाने छन् । प्रधानसेनापति शर्मा असार १९ मा काठमाडौं आउने छन् ।