बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रवासमा बसेका नेपालीले नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेख्य सहयोग गर्न सक्ने सम्भावना रहेको बताएका छन् ।
प्रवासी नेपालीले सहयोग गर्ने हो भने नेपाल भ्रमण वर्षमा ५० लाख पर्यटक भित्र्याउन सकिने सम्भावना रहेको समेत उनले उल्लेख गरे ।
गौतमबुद्ध विमानस्थल भैरहवाको स्थलगत अध्ययन तथा लुम्बिनी विकास कोषको बैठकमा भाग लिन बुटवल पुगेका भट्टराईले उक्त आह्वान गरेका हुन् ।
प्रवासी एक नेपालीले एक एक जना पर्यटक पठाएकै आधारमा पनि नेपालमा पर्यटक आगमनले उल्लेख्य फड्को मार्ने उनको भनाई छ ।
सामाजिक संजालमा सरकारलाई गाली गर्नुको साटो देशको विकासमा प्रवासबाटै योगदान दिनसमेत उनले आग्रह गरे ।
फेसबुकमा जथाभावी लेखेर देशको प्रतिष्ठा घटाउनुको साटो प्रवद्र्धनमा सहयोग गर्न उनले प्रवासमा रहेका नेपालीलाई आह्वान गरेका हुन् ।
विदेशमा बस्ने तेपालीले पर्यटक पठाएर सहयोग गर्ने हो भने नेपाल सरकारले पनि आवश्यक सहयोग गर्ने उनको प्रतिवद्धता थियो ।
उनले आगामी डिसेम्बरसम्म भैरहवा विमानस्थल संचालन हुने जानकारी गराए । त्यसअघि बिहीबार मन्त्री भट्टराईले विमानस्थल निर्माण क्षेत्रको स्थलगत अध्ययन गरेका थिए ।
उनले निजगढ विमानस्थलको शिलान्यास धुमधामले गर्ने तयारीमा आफू जुटेको समेत उल्लेख गरे ।