प्रस्तोतालाई थप्पड हानेका अमेरिकी अभिनेता स्मिथले ओस्कार एकेडेमीबाट दिए राजिनामा, थप कारवाही हुने

Photo : BBC

न्यूयोर्क । अमेरिकी अभिनेता विल स्मिथ ओस्कार एकेडेमीबाट राजीनामा दिएका छन्। बीबीसीका अनुसार विवादमा तानिएपछि उनले राजीनामा गरेका हुन् । उनले गत आइतवार आयोजित ओस्कार पुरस्कार वितरण समारोहमा हास्य कलाकार क्रिश रकलाई मञ्चमै पुगेर थप्पड हानेका थिए । त्यसपछि उनी विवादमा तानिए । उनले राजीनामा पत्रमा लेखेका छन्, ‘एकेडेमीको ९४ औँ पुरस्कार वितरण समारोहमा मेरो क्रियाकलाप स्तब्ध बनाउने खालको पीडादायी र अक्षम्य थियो ।’

एकेडेमीले उनको राजीनामा स्वीकार गरेको र अनुशासनको कारबाहीको काम अगाडि बढाइरहने बताएको छ। एलोपेसिया भन्ने रोगका कारण कपाल झरेर मुडुलो टाउको बनाएकी उनकी श्रीमतीमाथि रकले ठट्टा गरेपछि स्मिथ आक्रोशित भएर मञ्चमा उक्लिएर क्रिशलाई थप्पड लगाइदिएका थिए। त्यसको एक घण्टा पनि नहुँदै उनले ‘किङ रिचर्ड’ नामको फिल्ममा ख्यातीप्राप्त टेनिश खेलाडीहरू भीनस र सेरेना विलियम्सका बाबुको भूमिकाका कारण सर्वोत्कृष्ट अभिनेता पुरस्कार प्राप्त गरेका थिए।

‘मैले चोट पुर्‍याएकाहरूको सूची लामो छ। यसमा क्रिश, उनको परिवार, मेरा धेरै प्रिय साथीहरू, कार्यक्रममा उपस्थित सबै र विश्वव्यापी दर्शकहरू समावेश छन्’ स्मिथले भनेका छन् । ‘मैले एकेडेमीको विश्वासविरुद्ध कार्य गरेँ। मैले अन्य मनोनीत र विजेताहरूलाई उनीहरूको असाधारण कामको लागि उत्सव मनाउने अवसरबाट वञ्चित गरेँ। म दुःखी छु।’ स्मिथले आफ्नो लक्ष्य उपलब्धिको लागि योग्यहरूतर्फ सबैको ध्यान फर्काउनु भएको समेत बताएको समाचारमा उल्लेख छ ।

एकेडेमीका अध्यक्ष डेभिड रुबिनले स्मिथको राजीनामा स्वीकृत गरेको तर अनुशासन सम्बन्धी कारबाही जारी राखिने बताए। रकले बुधवार बोस्टनमा आयोजित एक स्ट्यान्ड(अप कार्यक्रमका क्रममा सम्बोधन गर्दै, आफू अझै पनि के भयो भनेर खुट्टाउन प्रयास गरिरहेको बताएका थिए। हाल अमेरिकाको आफ्नो कार्यक्रम इगो डेथका सिलसिलामा भ्रमणमा रहेका ५७ वर्षीय हास्य कलाकारलाई दर्शकले उभिएर सम्मान प्रकट गरेका थिए ।