प्राकृतिक दुबोसहितको घाँसे चउर बनाइँदै खुला मञ्च, दैनिक ५० जनाले काम गर्दै

काठमाडौँ । खुला मञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालिएको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको छ ।

सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइनेछ । यसमाथि प्राकृतिक दुवो रोपिनेछ ।

सहरी योजना आयोगका उपाध्यक्ष डा। सुमननरसिंह राजभण्डारी भन्छन्, ‘दुबोसहितको चउर भएपछि जनसाधारणको बहुउपयोगमा आउनेछ । विहान शारीरिक अभ्यास गर्न सकिनेछ । व्यवस्थित सार्वजनिक कार्यक्रम गर्ने स्थान हुनेछ । मर्निङ् वाक गर्न सकिनेछ । बालबालिका र युवालाई खेल्ने तथा रमाउने ठाउँ हुनेछ ।’

पूर्वाधार सल्लाहकार सुनिल लम्सालले खुला मञ्चलाई सबै खालका सार्वजनिक उपयोगका लागि उपयुक्त बनाउने योजना रहेको बताए ।

‘उवडखावड भएको मैदानलाई समथर बनाउने, आवश्यकताका आधारमा सबै खालका सार्वजनिक उपयोगका लागि उपयुक्त बनाउने योजना हो । खेल मैदानको जस्तो कृतिम दुवो लगाउने कुनै योजना छैन,’ उनले भने ।

महानगर प्रहरी बलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विगत ३ दिनदेखि काम भइरहेको जानकारी दिए । ‘हामीले दैनिक ५० जना जनशक्ति परिचालन गरेर जमिनमा भएका मसिना ढुङ्गा समेत टिप्न लगाएका छौँ । ३ दिनदेखि काम भइरहेको छ,’ उनले भने ।