प्रिन्स दाहाल जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा

काठमाडौं । नेपाली ब्याडमिन्टनका उदयीमान तारा प्रिन्स दाहाल जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुगेका छन् । उनले यो कीर्तिमान राख्दा नेपालबाट पहिलो पटक उच्च वरियता प्राप्त भएको हो । विश्व ब्याडमिन्टन फेडेरेसनले बुधबार जारी गरेको वार्षिक वरीयतामा सिंगल्सतर्फ उनी पहिलो नम्बरमा छन् । ओलम्पिक मान्यता प्राप्त खेलमा नेपाली खेलाडी विश्व वरीयताको शीर्ष स्थानमा पुगेको समेत यो पहिलो पटक हो ।

मान्यता प्राप्त प्रतियोगिताहरूको प्रदर्शनका आधारमा फेडेरेसनले हरेक साता जारी गर्ने विश्व वरीयता यसपल्ट एक वर्षपछि सार्वजनिक गरिएको हो । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता हुन सकेका छैनन् । अघिल्लो वर्ष प्रिन्स तेस्रो स्थानमा रहेकोमा उनले वरियतामा सुधार गरेका हुन् । फेडेरेसनले बुधबार सार्वजनिक गरेको विश्व वरीयतामा प्रिन्स १० हजार ४ सय अंकका साथ शीर्ष स्थानमा छन् ।

कोरोना महामारी सुरु भएयता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाएका प्रिन्सको वरीयता अंक भने सुधार हुन सकेको छैन । प्रिन्सपछि नेपालबाट वरीयतामा परेका नरेन्द्र बम ४६ औं स्थानमा छन् । महिलातर्फ रसिला महर्जन १९ औं वरीयतामा छिन् । जुनियर महिला वरीयता पहिलोपल्ट निकालिएको हो ।