फास्टट्रयाक्कमा सुरुङमार्ग बनाउने कम्पनीका प्राविधिक नेपाल आए

RSS

काठमाडौं । काठमाडौं–तराई–मधेश द्रुतमार्ग अन्तर्गत प्याकेज नम्बर २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का प्राप्त गरेको चिनियाँ पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका प्राविधिक नेपाल आएका छन् । कोरोना महामारीका बीच प्राविधिक नेपाल आउन पाएका थिएनन् । राससका अनुसार परियोजना प्रबन्धकसहितको टोली काठमाडौँ आएको हो ।

यो परियोजना निर्माणको जिम्मा नेपाली सेनाले व्यवस्थापन गरिरहेको छ । नेपाली सेनाको समन्वयमा ग्वाञ्जाओबाट चार्टर्ड उडानद्वारा सो कम्पनीको विशेषज्ञ टोली बुधबार काठमाडौँ आएको बताइएको छ । सुरुङ डिजाइनको मुख्य कामका लागि आएको टोलीमा कम्पनी परियोजना प्रबन्धक तथा सुरुङ, पुल र सडक इञ्जिनीयर सहितको १४ सदस्यीय विज्ञ समूह संलग्न रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेललाई उदृत गर्दै राससले लेखेको छ ।

मकवानपुरस्थित धेद्रे–लेनडाँडा सुरुङमार्ग रु २८ अर्ब ५३ करोड लागतमा निर्माण गर्न पोली च्याङ्दासँग गत वैशाख ३१ मा सम्झौता भएको हो । टोलीले कार्यालय स्थापना गरी डिजाइनको कामलाई तीव्रता दिने छ। सम्झौता भएको छ महिनाभित्र डिजाइनको काम पूरा गर्ने लक्ष्य छ ।

डिजाइन तयार भएको तीन वर्षभित्र सुरुङ निर्माणको काम सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ। सेनाले द्रुतमार्गको प्याकेज नम्बर १ चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशन लिमिटेड र प्याकेज नम्बर २ का लागि पोली च्याङ्दा इञ्जिनीयरिङ कम्पनी लिमिटेडसँग ठेक्का सम्झौता गरेको थियो।