फिफाले भारतमाथि किन लगायो प्रतिवन्ध ?

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि प्रतिबन्ध लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) मा फुटबलभन्दा बाहिरी शक्ति हावी भएको निष्कर्षमा फिफा पुगेको छ । उसले अनिश्चितकालीन प्रतिबन्ध लगाएको समाचारमा उल्लेख छ । प्रशासनिक समस्या समाधान गर्न भएको सहमतिको ‘रोडम्याप’बाट अखिल भारतीय फुटबल महासंघ विचलित भएपछि फिफाले मंगलबार प्रतिबन्ध लगाउने निर्णय गरेको समाचारमा जनाइएको छ ।

रोडम्याप अनुसार एआईएफएफले फिफा, एएफसी र भारतीय फुटबल समुदायसँग छलफल गरी बनाएको नयाँ विधानलाई अनुमोदन गर्न अगस्ट २०२२ को पहिलो साता विशेष साधारणसभा बोलाउने निर्णय भएको थियो । त्यसबीचमा सर्वोच्च अदालतको सुनुवाइले माथि उल्लिखित रोडम्यापमा विचलन हुने सूचित भएपछि फिफाले प्रतिवन्धको निर्णय लिएको जनाएको छ । भारतको सर्वोच्च अदालतले गत मेमा भारतीय फुटबल संघ (एआईएफएफ) लाई विघटन गरेर तीन सदस्यीय तदर्थ समिति बनाई खेलको व्यवस्थापन, विधान संशोधन र १८ महिनादेखि हुन नसकेको निर्वाचन गराउने जिम्मेवारी दिएको थियो ।

फिफाले भने यस्तो कदम नचाल्न भनेको थियो । एआईएफएफका अध्यक्षको कार्यकाल डिसेम्बर २०२० मा सकिएको छ । भारतमा खेलकुद संघमा तीन कार्यकालभन्दा बढी अध्यक्ष हुन नपाउने नियम छ । १२ वर्ष एआईएफएफको अध्यक्ष एउटै व्यक्ति बनेपछि विवाद चुलिएको हो । फिफाको यस निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्न पाउँदैन ।