फुटबल मैदानमा खेल चल्दा-चल्दै जब हेलिकप्टर अवतरण गर्यो

काठमाडौं । स्याङ्जाको वालिङमा फुटबल खेल चलिरहँदा मैदानमा हेलिकप्टर ल्याण्ड गरेको छ । त्यसपछि आयोजकले पाइलट र यात्रुमाथि हातपात गरेका छन् । वालिङ गोल्डकपको सेमिफाइनलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भईरहेको बेला प्रभु एयरको हेलिकप्टर मैदानमै ल्याण्ड भएको थियो । त्यसपछि मैदानमै उपस्थित दर्शकले बिना सूचना र जानकारी मैदानमा हेलिकप्टर उतारेको भन्दै पाइलट रानेश डंगोल र यात्रुलाई कुटपिट गरेका छन् । वालिङ नगरपालिका–९ का विनोद गैरे, खिमबहादुर थापा, सुशील गिरी, सुशील थापाले उक्त हेलिकप्टर चार्टर गरेर वालिङ लगेका थिए ।

उनीहरुले नै मैदानमा हेलिकप्टर उतार्न दबाव दिएकाले आफूले ल्याण्ड गरेको डंगोलले बताएका छन् । वायुसेवा सञ्चालक संघले पाइलटमाथि भएको कुटपिटको विरोध गरेको छ । पाइलटले यात्रुले दिएको लोकेसनमा हेलिकप्टर अवतरण गराएको भन्दै सो क्रममा भएको कुटपिटको संघले विरोध गरेको हो । संंघले कुटपिटमा उत्रिएको समूहमाथि कारवाहीको माग गरेको छ ।