फेरी अर्को एउटा भ्रममा मरौं

मणी भट्टराई, अमेरिका

तिमी मलाई प्रेम गरे जस्तो गर
म तिमीलाई प्रेम गरे जस्तो गर्छु
आऊ,
तिमी र म
एउटा नयाँ भ्रमको सुरूवात गरौं
भ्रम नै त हो जिन्दगी
फेरी अर्को एउटा भ्रममा मरौं ।

‘भ्रम पहिले नै कति छन् कति
अभाव भ्रमको होइन
अभाव मलाई तिम्रो हो’- भन
म पनि त्यसै भन्छु
तिम्रा बकबासहरूलाई – म समय दिन्छु
मेरा बकबासहरूलाई – तिमी समय देऊ
हामी लिप्त होऊँ
निर्लिप्त होऊँ
र यस अघि केही नथाहा पाए झै
फेरी प्रेममा डुबौं
आऊ,
फेरी अर्को एउटा भ्रमको खाल्डोमा
जानाजान जाकिएर मरौं
जिन्दगी फोकटमा गइसक्यो
केही नगरे जस्तै भइसक्यो
आऊ
केही त गरौं
भ्रम नै त हो जिन्दगी
फेरी अर्को एउटा भ्रममा मरौं ।

‘ बिहे गरेर गल्ति गरेछु’ – भन
म पनि –
‘ थुक्क !
यस्तै हुन्छ भन्ने जानेको भए
किन पो गर्थें विहे?’ – भन्छु
तिम्रो र मेरो कुरा मिलाउनु पर्छ
यी फाटे जस्ता लाग्ने
एक अर्काका मन सिलाउनु पर्छ
कफी सप, डान्सबार र नाइट क्लबमा भेट्नु पर्छ
मनको तृष्णा मेट्नु पर्छ
आऊ,
एउटा नयाँ भ्रमको खेती गरौं
गर्न त यस अघि पनि कति गरियो गरियो
अब यति गरौं
भ्रम नै त हो जिन्दगी
फेरी अर्को एउटा भ्रममा मरौं ।

‘ह्या ऽऽ के हुन्छ र ?
संसार कहाँ पुगिसक्यो !’ – भन
म पनि – ‘त्यै त , कुन ठूलो कुरा हो र ? ‘ – भन्छु
आऊ
जे गर्न मन लाग्छ त्यही गरौं
भ्रम नै त हो जिन्दगी
फेरी अर्को एउटा भ्रममा मरौं ।

साह्रै बोर भयो जिन्दगी !
आऊ, अलिकति रोमान्टिक बनाऊँ
तिमी मलाई नखरा पार – ढाँट
म तिमीलाई नखरा पार्छु – ढाँट्छु
तर फेरी
यो केही थाहै नभए झैं
हामी एक अर्कोलाई हदै विश्वास गरौं
आऊ
हामी एक पटक प्रेममा परौं
अनेक गरियो जिन्दगीमा
अब यति गरौं
भ्रम नै त हो जिन्दगी
फेरी अर्को एउटा भ्रममा मरौं ।

कस्सम !
साह्रै बिरक्त भइसक्यो
म तिम्रा ओठको प्रसंसा गर्छु
तिमी मेरो आँखाको प्रसंसा गर
म तिमीलाई – ‘कति मीठो हाँसेकी ! ’ – भन्छु
तिमी मलाई – ‘बोली नै मीठो हजुरको’ – भन
म्यासेज छोडी राख
बेला बेला बोली राख
आऊ
एउटा भ्रमको खेति गरौं
अनेक गरियो जिन्दगीमा
अब यति गरौं
भ्रम नै त हो जिन्दगी
फेरी अर्को एउटा भ्रममा मरौं ।