काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउन गरिरहेको उद्दार उडान फेरी रोकिएको छ । मुलुक भित्र बाढी र पहिरोका कारण प्रतिकूल अवस्था सिर्जना भएपछि तत्कालका लागि उद्दार उडान स्थगित भएको पर्यटन मन्त्रालयले जनाएको छ । मौसम अनुकुल बनेपछि र सडक यातायात पुनः सूचारु भएपछि भने बाँकि रहेका उडान संचालन गर्ने योजना सरकारको छ ।
विदेशबाट ल्याएपछि सम्बन्धित गाउँपालिकासम्म पुर्याउन समेत कठिन हुने देखिएपछि सरकारले उद्दार उडानको काम रोक्ने निर्णय गरेको बताइएको छ । अहिले बाढी र पहिरोका कारण देशभरका राजमार्गमा कुनै न कुनै प्रकारको अवरोध उत्पन्न भएको छ । तराईदेखि पहाडसम्म यो समस्या देखिएको छ । अहिले भर्खरै काठमाडौं झरेका मध्ये पनि कतिपय बाटोमै अलपत्र रहेको भन्दै सरकारले बाँकि उद्दारको काम मौसम प्रतिकुल हुँदै गएपछि संचालन गर्ने योजना बनाएको हो ।
अहिले केही विदेशी वायुसेवाले मात्र उडानको अनुमति लिएका छन् । बिहीबार सिंगापुरबाट सिल्क एयर आउँदैछ । बुधबार भने कुल ५७० जना नेपाली काठमाडौं अएका छन् । उनीहरुमध्ये ५ सय भन्दा बढी मलेसियाबाट आएका हुन् । सरकारले १ भदौबाट भने नियमति उडान संचालनको योजना बनाएको छ ।
यता, बुधबारसम्म विभिन्न मुलुकबाट ३४ हजार ५ सय भन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन् । यो लकडाउनपछि सरकारले संचालन गरेको उद्दार उडानका दौरान फर्किएकाको संख्या हो । विभिन्न २५ देशबाट साढे ३४ हजार नेपाली घर फर्किएका हुन् ।