फेसबुकमाथि अमेरिकामा ५ अर्ब डलर जरिवाना

अमेरिकाको केन्द्रिय व्यापार आयोग (एफटीसी)ले फेसबुकमाथि ५ अर्ब डलर जरिवाना सुनाएको छ ।

फेसबुकको गोपनीयतासम्बन्धी मुद्दामा करीव १ वर्षको अनुसन्धानपछि आयोग उक्त निर्णयमा पुगेको अंतरराष्ट्रीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यो जरिवाना सम्भवतः फेसबुकमाथि लगाइएको सबैभन्दा ठूलो हो । संसारभर फेसबुकको गोपनीयतासम्बन्धी विषयले अहिले निकै चिन्ताका रुपमा हेरिएको छ ।

फेसबुकले व्यक्तिको गोपनीयतासँग सम्बन्धी कानूनको पालना गर्न नसकेको पाइएपछि उक्त कम्पनीमाथि ठूलो जरिवानाको फैसला गर्नु परेको एफटीसीलाई उदृत गर्दै मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

एफटीसी अध्यक्ष जो सिमोन्सले फेसबुकको गोपनीयता उल्लंघन घटाउन र गोपनीयता कायम गर्ने कानूनलाई कडाईका साथ पालना गराउन जरिवानाको घोषणा भएको बताएका छन् ।

उनका अनुसार फेसबुकले तोकिएको जरिवाना तिर्नेछ । राजनीतिक परामर्शदाता कम्पनी क्याम्बिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताको डाटा प्राप्त गरेको विषय स्क्यान्डल बनेको थियो ।

त्यसपछि फेसबुकमाथि गोपनीयता हनन गरेको सम्बन्धि कानून आकर्षित भएको थियो । अहिले पनि फेसबुकमार्फत आउने विभिन्न एप्सले व्यक्तिको गोपनीयतामाथि हनन गरेको आरोप लाग्दै आएको छ ।

एजेन्सी