काठमाडौं । गणतन्त्रात्मक संघीय राज्य व्यवस्था भित्र वैकल्पिक राजनीतिक शक्ति बन्ने उद्घोषका साथ राजनीतिमा आएका रवीन्द्र मिश्रको राजा मोह शनिबार अझ छताछुल्ल भएको छ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष समेत रहेका मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलई एक दिन राजाको रुपमा देख्न चाहेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । हृदयेन्द्रको २१ औं जन्मदिनको अवसरमा शुभकामना दिँदै उनले फेसबुकमा यस्तो लेखेका हुन ।
‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु। २१औँ जन्मदिनको शुभकामना,’ उनले लेखेका छन् । आफ्नो २० वर्षको पत्रकारिता र ५ वर्षको राजनीति तथा अन्य अनुभवका आधारमा मुलुक ढिलोचाँडो नराम्रो संकटमा फस्ने र संकटको बेला मात्र सदुपयोग गर्ने गरी खोपामा भए पनि राजसंस्था राख्नुपर्ने तर्क उनको छ । जनताले लामो संघर्ष गरी आफ्नो शासन आफैले गर्न सक्ने व्यवस्था मुलुकमा ल्याएका हुन् । यसै व्यवस्था भित्र टेकेर मिश्रले भने पुनः जहानिया राजत्रतन्त्रको वकालत गरिरहेका छन् ।