फेसबुक कम्पनीको नाम परिवर्तन गरि बनाइयो ‘मेटा’

FT

काठमाडौं । अमेरिकी सामाजिक संजाल फेसबुकले आफ्नो नाम परिवर्तन गर्दै मेटा राखेको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले शुक्रबार यसको औपचारिक घोषणा गरेका छन् । फेसबुलले आफ्नो नाम परिवर्तन गर्न लागेको जनाएको थियो । तर, नाम सार्वजनिक गरिएको थिएन । फेसबुकका संस्थापक जुकरबर्गले आफ्नो सामाजिक सञ्जाललाई दोस्रो पटक ब्राण्डिङ गर्न चाहेको उल्लेख गरे । कम्पनीले फेसबुकको नयाँ नाम परिवर्तन गरेसँगै रोजगारीको नयाँ अवसर पनि खोल्ने जानकारी गराएको छ ।

फेसबुकमाथि संसारभर विभिन्न आलोचना भइरहेको समयमा उसले कम्पनीको नाम बदलेको हो । पछिल्लो समय आफ्नै पूर्वकर्मचारीले अमेरिकी संसदमा फेसबुकका गोप्य तथ्यहरुको खुलासा गरिदिएसँगै फेसबुक दबाबमा परेको थियो । फेसबुकले आफूलाई केवल सोसल मिडिया भन्दा व्यापक भएको कम्पनीको रुपमा चिनाउन चाहेसँगै अब सेवा समेत बिस्तार गर्ने भएको छ । फेसबुक अक सामाग्रीहरुको उत्पादनमा समेत लाग्ने छ । जसले थप रोजगारी सिर्जनामा मद्दत पुग्ने छ ।