फोहोरको अवरोध हट्यो, आन्दोलन फिर्ता

काठमाडौं । काठमाण्डौ उपत्यकाको फोहर ढुवानीमा भएको अवरोध हटेको छ । सहरी विकास मन्त्रालयसँग नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयबासिन्दाको छलफलमा मौखिक सहमति भएपछि आन्दोलन रोकिएको छ । सहमति अनुसार फोहर व्यवस्थापन भइरहेको सिसडोल र बञ्चरेडाँडामा दुर्गन्ध फैलिन नदिन फोहरलाई माटोले छोप्ने तथा औषधि छर्कने काम जारी छ ।

गतरातिदेखि नै दुर्गन्ध हटाउने र फोहर छोप्ने काम भइरहेको हो । यो काम आज सकिए आजैदेखि फोहर बोकेका गाडी बञ्चरेडाँडा जान पाउने बताएको छ । फोहरका कारण दुर्गन्ध फैलिँदा र झिँगा भन्किँदा स्थानीयबासिन्दा आक्रोशित भएका थिए । फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दाले आन्दोलन थालेका थिए ।

दुर्गन्ध हटाइ फोहर छोप्ने सहमति भए पछि स्थानीय बासिन्दाले आन्दोलन रोकेका हुन् । यसअघि पनि काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग दुर्गन्ध हटाएर फोहर छोप्ने सहमति भएको थियो । तर, त्यो कार्यान्वयन नभएको भन्दै गएको १ गतेदेखि स्थानीय बासिन्दाले आन्दोलन थालेका थिए ।