पेरिस । फ्रान्समा एक जना महिला सैनिकले आफुमाथि सहकर्मीबाटै यौन दुर्व्यवहार भएको सार्वजनिक गरेकी छिन् । यससँगै सरकारी अभियोजनकर्ताहरूले पेरिसस्थित राष्ट्रपति भवनमा भएको भनिएको एउटा बलात्कारको घटनाबारे अनुसन्धान गर्न थालेको स्थानीय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार महिला सैनिकले एलीजे दरबारमा गत जुलाई महिनामा आयोजित एउटा मदिरापान कार्यक्रमपछि आफूमाथि यौन दुर्व्यवहार भएको बताएकी हुन् ।
बिदा हुन लागेका एक वरिष्ठ अधिकारीका लागि आयोजित उक्त कार्यक्रममा राष्ट्रपति एमानुएल माक्रोँ समेत सहभागी थिए। आरोपित व्यक्ति पनि सैनिक नै रहेको बताइएको छ । यस विषयमा उनीसँग सोधपुछ समेत गरिएको समाचारमा उल्लेख छ । यद्दपी उनीविरुद्ध अहिलेसम्म अभियोग भने नलगाइएको बताइएको छ । लिबरेशन नामक पत्रिकाले शुक्रवार पहिलो पटक उक्त आरोपबारे समाचार प्रकाशित गरेको हो ।
पीडित भनिएकी महिला र अभियुक्त दुवै जना राष्ट्रपति भवनको उच्च सुरक्षा अधिकारीको कार्यालयमा कार्यरत थिए। पत्रिकामा जनाइ अनुसार उनीहरू एकअर्कासँग परिचित थिए। राष्ट्रपति कार्यालयका एक अधिकारीले एएफपी समाचार संस्थालाई बताए अनुसार अधिकारीहरूलाई यस आरोपबारे थाहा हुनासाथ पीडित भनिएकी महिलालाई सहयोग गर्न आवश्यक कदम चालिएको छ ।
राष्ट्रपति छोटो मन्तव्य राखेर निस्किएका थिए । तर पछि मदिरापानको कार्यक्रम चलिरहेको बताइएको छ । घटना भएको भोलिपल्टै ती महिलाले प्रहरीमा औपचारिक उजुरी दिएकी थिइन् ।