सुर्खेत । कर्णाली प्रदेशमा फ्लोर क्रस गरी माओवादी नेतृत्वको सरकार जोगाएका तीन जना एमालेका सांसदलाई मन्त्रीमा नियुक्त गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै फ्लोर क्रस गरेका तीन जनालाई मन्त्री बनाएका हुन् ।
शाहीले नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकास र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्री नियुक्त गरेका हुन् ।
एमालेका प्रदेशसभा सदस्य बुढा, थापा र शाही तथा प्रकाश ज्वालाले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीलाई मत दिएका थिए । एमाले प्रदेश कमिटीले शनिबार फ्लोर क्रस गर्ने तीन प्रदेशसभा सदस्यलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो । प्रकाश ज्वालालाई भने कारबाही गर्न केन्द्रमा सिफारिस गरेको थियो ।