काठमाडौं । मैत्रीपूर्ण फुटबलमा नेपालले बंगलादेशमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा अन्जन विष्टले ह्याट्रिकको मद्दतमा नेपालले बंगलादेशमाथि ३–१ गोल अन्तरको जित निकालेको हो । नेपालका लागि सबै गोल अन्जनले गरेका हुन् । नेपालले १८औं मिनेटमा अन्जनले गोलबाट अग्रता लिएको थियो । विमल घर्ती मगरले राइड साइडबाट प्रहार गरेको फ्रिकिमा उनले हेडर गोल गरे । २७औं मिनेटमाअन्जनले नै नेपालको अग्रता दोब्बर बनाए ।
विशाल राईले राइड साइडबाट गरेको क्रसमा विमलले पेनाल्टी क्षेत्रमा तेज तामाङलाई बल मिलाइदिए । सोही बलमा तेजको प्रहार बंगलादेशी गोलकिपर अनुसुर रहमानले पञ्च गरेका थिए, तर रिबाउन्ड आएको बललाई अन्जनले १८ यार्ड बक्सभित्रबाट सहजै जालीको दिशा दिए । खेलको ३८औं मिनेटमा अन्जनले ह्याट्रिक गर्दै नेपाललाई ३–० को अवस्थामा पुर्याए ।
विशाल राईले प्रहार गरेको फ्रिकिकमा अन्जनले पेनाल्टी क्षेत्रमा हेडर गोल गरे । अन्जनको यो १०औं अन्तर्राष्ट्रिय गोल हो । उनी नेपालका लागि ह्याट्रिक गर्ने छैटौं खेलाडी बने । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका छन् । खेलको ५७औं मिनेटमा बंगलादेशका मोहम्मद टुटुल हुसैन बादशाहले एक गोल फर्काए ।