ढाका । नेपालको छिमेकी मुलुक बङ्लादेशमा आजबाट राष्ट्रव्यापी कडा लकडाउन सुरु भएको छ । एक सातासम्मका लागि तोकिएको यो लकडाउनमा अति आवश्यक काम नपरी घर बाहिर ननिस्कन सर्वसाधारणमा आह्वान गरिएको छ । लकडाउनको पूर्वसन्ध्यामा राजधानी ढाकाबाट ग्रामिण भेगमा जानेहरुको ठूलो भिडले सवारी साधन र सडक खचाखच भएको खबर आएका छन् । सरकारले सोमवारदेखि सात दिनसम्म बाङ्लादेशमा अत्यावश्यक काम बाहिर बाहिर निस्कन प्रतिवन्ध लगाएको हो ।
बंगलादेशमा कोरोनाको लहर पुनः बढेको छ । अति संक्रामक मानिएको डेल्टा भेरियन्टको पुष्टी भएसँगै बंगलादेशले कडा लकडाउन घोषणा गरेको हो । बाङ्लादेशमा पछिल्लो लहर करिब छ साता हप्ता अगाडिबाट प्रारम्भ भएको हो । १५ मे मा त्यहाँ २६१ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको र २२ जनाको मृत्यु भएको तथ्यांक छ ।
तर, पछिल्लो शुक्रबार यहाँ ५,८६९ जनामा सङ्क्रमण पुष्टि भएको छ । १०८ जनाको मृत्यु भएको छ । ढाकासहितका शहरमा अस्पतालमा बिरामी भरिभराउ रहेको बताइएको छ । खासगरी भारतसँग सीमा जोडिएका अस्पतालमा समस्या भयाभह बनेको छ । बंगलादेशमा एक साता सबै सरकारी सेवा समेत बन्द गरिएको छ ।