ढाका । बंगलादेशमा इन्धनको मूल्य ५० प्रतिशतसम्म बढ्दा विरोध प्रदर्शन शुरु भएको छ । यस देशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले बढेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तेलको बढ्दो मूल्यको कारण युक्रेनमा जारी युद्ध भएको त्यहाँको सरकारको तर्क छ । दक्षिण एशियामा यसअघि श्रीलंकामा चरम आर्थिक संकटले जनजीवन नराम्रोसँग प्रभावित भइसकेको छ । बंगालादेशमा समेत यस्तो अवस्थाको आंकलनसहित हजारौं मानिस सडकमा आएका हुन् ।
बंगलादेशमा इन्धनको मूल्यका कारण ८६ टाका (नेपाली रुपैयाँ ११५.२९) प्रतिलिटरमा पाइने पेट्रोल १३० टाका (नेपाली रुपैयाँ १७४.२७) पुगेको छ। डिजल र मट्टितेलको मूल्य ४२.५ प्रतिशतले बढेको छ।
झन्डै १६ करोड ८० लाख जनसङ्ख्या रहेको यस मुलुकमा अब महंगीको मारमा जनता परेका छन् । गत हप्ता मूल्यवृद्धिको घोषणा गरिएपछि हजारौँ मानिसहरूले पेट्रोल पम्पबाहिर देशभरि प्रदर्शन गरेका थिए। श्रीलङ्काको झल्को दिएको उक्त प्रदर्शनका क्रममा मूल्यवृद्धि फिर्ता लिन माग गरिएको छ । यस देशमा पनि विदेशी मुद्राको सञ्चिति भने कम भइरहेको छ।