काठमाडौं । बंगलादेशमा नोबेल पुरस्कार विजेता प्राध्यापक मोहम्मद युनुसलाई जेल सजाय सुनाइएको छ । देशको श्रम कानुन उल्लंघन गरेको आरोप उनीमाथि लागेको छ । उनलाई ६ महिनाको जेल सजाय सुनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ८३ वर्षिय युनुस प्रधानमन्त्री शेख हसिनाका प्रखर आलोचक हुन् ।
उनका समर्थकहरुले यो मुद्दामा भएको फैसला राजनीतिक रुपमा प्रेरित भएको आरोप लगाएका छन् । युनुसमाथि राजनीतिक पूर्वाग्रहका आधारमा उत्पीडन गरिएको भन्दै भन्दै गत सेप्टेम्बरमा १७० भन्दा बढी विभिन्न देशका व्यक्तिहरुले शेख हसिनासँग आग्रह गरेका थिए ।
पृष्ठभूमिमा युनुससहित संलग्न रहेको एक टेलिकम फर्मले कामदारहरूको लागि कल्याणकारी कोष सिर्जना नगरेको ठहर गर्दै अदालतले दोषी किटान गरेको हो । तर यो फैसलाविरुद्ध उनीहरुले पुनरावेदन गर्ने भएका छन् । ‘मेरा वकिलहरूले अदालतमा दृढतापूर्वक तर्क गरेकाले मेरो विरुद्धको यो फैसला सबै कानुनी पूर्वाधार र तर्कविपरीत छ,’ युनुसले फैसलापछि जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘म बंगलादेशी जनतालाई अन्यायकोविरूद्ध र हाम्रा प्रत्येक नागरिकका लागि लोकतन्त्र र मानव अधिकारको पक्षमा एक आवाजमा बोल्न आह्वान गर्दछु ।’
गरिबहरूका बैंकरु भनेर अन्तर्राष्ट्रिय रूपमा चिनिने ८३ वर्षीय युनुसलाई लाखौंलाई गरिबीबाट बाहिर निकाल्न लघुवित्त ऋणको अग्रगामी प्रणाली स्थापना गरेको श्रेय दिइन्छ। युनुस र उनको ग्रामीण बैंकलाई सन् २००६ मा संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।युनुसका एक वकिल अब्दुल्लाह अल मामुनले बीबीसीलाई भनेका छन्,’यो अभूतपूर्व फैसला थियो। मुद्दामा कुनै उचित कानुनी प्रक्रिया अपनाइएको थिएन र यसलाई हतारमा अघि बढाइएको थियो ।हामी यो फैसलाविरुद्ध अपिल गरिरहेका छौं।’
युनुसका वकिलहरूले उनीमाथि श्रम कानून उल्लङ्घन र भ्रष्टाचारको आरोपमा अन्य १०० भन्दा बढी आरोपहरू सामना गरिरहेको बताएका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले एक पटक युनुसलाई गरिबको रगत चुस्ने भन्दै ग्रामीण बैंकले अत्यधिक ब्याजदर लिएको आरोप लगाएकी थिइन् । अधिकार संगठन एम्नेस्टी इन्टरनेसनलको पूर्व प्रमुख समेत रहेका इरेन खान पनि सोमबार को फैसलामा उपस्थित थिइन्। उनले एएफपी समाचार एजेन्सीलाई यो सजायले न्यायको अपमान भएको बताएकी छन् ।