ढाका । बंगलादेशमा एक यात्रुवाहक पाजीजहाजमा आगलागी हुँदा कम्तीमा ३७ जनाको ज्यान गएको छ। कैयौं मानिस घाइते भएका कारण मृतक अझै बढ्न सक्ने अनुमान गरिएको छ । त्यहाँको सुगन्धा नदीमा घटना भएको हो। घटना भएको झालकोटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले अहिलेसम्म कम्तीमा ३७ वटा शव फेला पारिएको जानकारी गराएको बीबीसीले लेखेको छ ।
डुङ्गामा आगो लाग्दा कैयौँ यात्री नदीमा हाम फालेका थिए । मृतकको सङ्ख्या बढ्न सक्ने ठानिएको छ। धेरैजसोको मृत्यु आगोले जलेर भएको छ भने केही आगलागी भयो भनेर पानीमा हामफाल्दा डुबेर मरेका हुन् । डुङ्गामा ५०० जना यात्रु रहेको बताइएको छ।
एमभी अभियान नामक डुङ्गा गएराति ढाकाबाट बर्गुनाका लागि हिडेको थियो । शुक्रवार बिहानै डुङ्गामा आगलागी शुरू भएको हो । आगलागीको कारण खुलेको छैन । घाइतेहरूलाई बरिसल सदर अस्पताल र स्थानीय अस्पतालमा लगिएको छ । आगलागीका बेला धेरैजसो मानिस सुतिरहेका थिए। दुर्घटनाको अनुसन्धान गर्न विशेष समिति गठन गरिएको छ। बर्गुना ढाकाबाट २५० किलोमिटर दक्षिणमा पर्छ।