बंगलादेशसँग नेपाल २-० ले पराजित

Photo : Dhaka Tribune

काठमाडौं । बंगलादेश र नेपालबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ । शुक्रबार ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली बंगलादेशले नेपाललाई २-० गोल अन्तरमा हरायो ।

बंगलादेशले खेलको दुवै हाफमा एक एक गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो । खेलको दशौँ मिनेटमै मोहम्मद नविन नेवाज जीवनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए । नेपालले खेलमा सुधार गरेको भएपनि अवसरहरुलाई गोलमा परिणत गर्न सकेन ।

८०औं मिनेटमा महबुबुर रहमानले एकल प्रयासमा गोल गरे । नेपाल एक साताको तयारीमा बंगलादेश पुगेको हो । मैत्रीपूर्ण खेलको सिरिज अन्तर्गत दोस्रो खेल नेपालले बंगलादेशसंग यही नोभेम्बर १७ तारिखमा खेल्ने कार्यक्रम रहेको छ ।

सन् २०१८ मा बंगलादेशमै भएको साफ च्याम्पियनसिपछि नेपाल र बंगलादेश एक आपसमा भिडेका हुन् । त्यो बेला नेपालले बंगलादेशलाई २-० ले हराएको थियो । आजको खेलमा तीन युवा खेलाडीले डेब्यु गरे । युवा डिफेण्डर विकास खवास, मिडफिल्डर एरिक विष्ट र दर्शन गुरुङले आज देशका लागि खेल्ने मौका पाए ।