बजेटमा करका दर बदल्न अनाधिकृत व्यक्ति पसेको बारे अर्थमन्त्रीले दिए स्पष्टिकरण, एमाले असन्तुष्ट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा राजस्वका दर चलाउन रातको १२ बजे कोही व्यक्ति आएको भन्ने कुरा भ्रामक र झुटो कथा मात्रै भएको स्पष्टिकरण दिएका छन् । तर, उनको स्पष्टिकरणमा विपक्षी दल एमालेले भने असन्तुष्टी जनाएको छ । एमालेले मंगलबार संसदमा पुनः अवरोध गरेको छ । संसदमा सो विषयबारे सांसदले चासो राखेपछि सभामुख अग्नी सापकोटाले उठेका प्रश्नबारे जवाफ दिन अर्थ मन्त्रीलाई समेत उपलब्ध गराएका थिए । अर्थमन्त्री शर्माले भने बजेट निर्माण गर्दा राजस्वका दर चलाउन रातको १२ बजे कोही व्यक्ति आएको भन्दै भ्रामक र झुटो कथा बनाइएको बताए ।

उनले अनाधिकृत व्यक्तिले बजेट बनाएको विषय भ्रामक भएको समेत बताए । अर्थमन्त्रीको हैसियतमा नीतिगत रुपमा भिजन दिएर बजेटमा योगदान गरेको उनको भनाइ थियो । बजेट निर्माणका सबै प्रक्रिया आधिकारिक रुपमा भएको भन्दै उनले बजेट तर्जुमासम्बन्धी विषय तोकिएको जिम्मेवारी भित्र रहेर बनाइएको बताए । ‘बजेट तथा आर्थिक विधेयक तर्जुमा प्रक्रिया अन्तर्गत नै रहेर बनाइएको हो’ उनले भने । यसमा अर्थसचिव र राजस्व सचिवले नेतृत्व गरेको भन्दै उनले मातहतमा अन्य विभागीय प्रमुख कर्मचारीको तहमा विभिन्न स्तरमा छलफल भएर, सरोकारवालाबाट आएका सुझाव समेतलाई ध्यान दिएर बजेट बनाइएको दावि गरे ।