काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बजेट कार्यान्वयनका लागि बजेट बजेट प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन् । बजेट क्यालेण्डर परिवर्तन गर्नुपर्ने राय थापाले राखेका छन् । बजेट माथि छलफलमा बोल्ने क्रममा महामन्त्री थापाले सांसदको भूमिका बजेट निर्माण प्रक्रियामा हुनुपर्ने बताए । फागुन महिनामा बजेटको प्रारम्भिक खाका विषयगत समितिमा ल्याउँदा संशोधन गर्नुपर्ने ऐनमा छलफल हुने बताए ।
‘कतिवटा कानुनमा छलफल गर्नुपर्ने हो त्यहाँ व्यापक छलफल हुन्छ, । त्यसो हुँदा भोली गएर मन्त्रीले संसदलाई फकाईरहन पर्दैन,‘ थापाले भने, ‘किनकी, संसदीय समिति पनि बजेट निर्माणमा सहभागी भएको हुनाले कानुन संशोधन गर्ने कुरामा मद्धत गर्दछ ।’
बजेट क्यालेण्डर परिवर्तन गर्दा चैत र वैशाखमा बजेट कार्यान्वयनका लागि आवश्यक सबै कानुन बनिसक्ने थापाले बुझाइ छ । बजेट कार्यान्वयनका लागि केही ऐनहरु संशोधन गर्नुपर्ने भएकाले बजेटको लक्ष्य प्राप्त गर्न कठिनाई हुनेतर्फ अर्थमन्त्री महतको ध्यानाकर्षण थापाले गराए । बजेट कार्यान्वयन भए नभएको हेर्न ‘फिसकल वाचडग’ अभ्यास गर्न उनले सुझाव दिए ।
विश्वको कतिपय देशमा बजेट कार्यान्वयनको अवस्था हेर्ने संयन्त्रको निर्माण गरिएको सुनाउँदै थापाले नेपालमा त्यसको सान्दर्भिकता रहेको सुनाए । नागरिकमा नैराष्यता रहेकाले बजेटले निराशा हटाएमा कार्यान्वयन भएको बुझिने थापा बताउँछन् ।
‘साना व्यापारीहरु जसले थोरै ऋण लिएका छन् । तर, आज ऋण तिर्न नसकेर उठीबास लागेको छ । सानो सानो पसल गर्ने व्यापारी जसले पसल बन्द गरेर भागेका छन्,धेरै नैराश्यता व्यक्त गरिरहेका छन् । उनीहरुले दिने अंकले अर्थमन्त्रीको सफलता र असफलताको मापन गर्दछ’, थापाले भने । आयातमा भर परेको अर्थव्यवस्था भएकाले एकातिर तान्दा अर्कोतिर घट्ने अवस्था रहेको थापाले बताए ।