बजेट निर्माण प्रकरण : आज निवर्तमान अर्थमन्त्री शर्मासँग बयान

काठमाडौं । संसदीय छानबिन विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भए नभएकोबारे बयान लिने भएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधबार बसेको बैठकले सोधपुछका लागि उनलाई आज बोलाउने निर्णय गरेको हो । बैठक अहिले शुरु हुँदैछ । यसअघिका बैठकमा अर्थ मन्त्रालयका अधिकारी, बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको घुसपैठसम्बन्धी समाचार लेख्ने पत्रकारलगायतसँग सोधपुछ गरिसकेको छ ।

छानबिनका लागि संसदले दिएको १० दिन समय नपुग्ने भन्दै म्याद थपको विषयमा समेत छलफल भएको छ । तत्कालीन अर्थमन्त्री शर्माले २०७९÷०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप छ । यो आरोपपछि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । लगत्तै शर्माले अर्थमन्त्रीबाट राजीनामा गरेका छन् ।