बजेट निर्माण प्रकरण : छानविन समितिको म्याद ७ दिन थप

काठमाडौं । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेशका विषयमा छानविन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ । आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो । सुरुमा १० दिनको समय पाएको समितिले काम नसकेपछि पुनः ७ दिन थप भएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले उक्त समितिको म्याद ७ दिन थप गर्ने प्रस्ताव प्रतिनिधिसभामा राखेका थिए । त्यसलाई बैठकले अनुमोदन गरेको छ । यसअघि समितिले बिहीबार नै निवर्तमान अर्थमन्त्री शर्मासँग यसबारे बयान लिएको थियो । उनले इन्कारी बयान दिएका छन् । आरोपबारे पर्याप्त प्रमाण जुटाउन नसकेको समितिले सीसीटीभी क्यामरा रिकोभर गर्न सकिने सम्भावनाबारे नेपाल प्रहरीबाट अध्ययन गराइरहेको छ ।