बजेट निर्माण प्रकरण : समितिले आज प्रतिवेदन बुझाउँदै

काठमाडौं । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति छिरेको आरोप खेपेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको संसदीय विशेष समितिको प्रतिवेदन आज सभामुख अग्नी सापकोटासमक्ष पेश हुँदैछ । प्रतिवेदनलाई अन्तिमरुप दिन बिहीबार दिनभर समितिको बैठक बसेको थियो । विशेष समितिले प्राप्त प्रमाणहरूबाट बजेट निर्माणका क्रममा करका दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि भने गर्न सकेन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूले भने समितिको निष्कर्षमा फरक मत राखेका छन् ।

छानबिनको क्रममा समितिले तत्कालीन मन्त्री जनार्दन शर्मा, अर्थ सचिव मधु कुमार मरासिनी, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारी लगायत विभिन्न पक्षसँग छलफल गरेको थियो । अर्थ मन्त्रालयको डिलिट भएको भनिएको सीसीटीभी फुटेज रिकभर गराएरसमेत अध्ययन गरिएको थियो । तर समितिले अनधिकृत व्यक्तिको संलग्नता भएको पुष्टि भएन् ।

संसदमा बजेट पेश गर्नुभन्दा अघिल्लो दिन जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा बोलाएर करको दर हेरफेर गराएको समाचार सार्वजनिक भएपछि गत असार २२ गते बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले ११ सदस्यीय छानबिन विषेश समिति गठन गरेका थिए ।

त्यसलगत्तै अर्थ मन्त्री पदबाट शर्माले राजीनामा दिएका थिए । समितिलाई १० दिनभित्र प्रतिवेदन दिन भनिएको थियो । तोकिएको समयभित्र काम नसकेपछि प्रतिनिधिसभाले सात दिन समय थप गरेको थियो । समितिको अवधि बिहीबार पुरा भएको छ ।