बजेट प्रकरण : सीसीटीभी फुटेज रिकभर गर्ने जिम्मा प्रहरीलाई

काठमाडौं । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको आरोपका सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले सीसीटीभी फुटेज रिकभर गर्न नेपाल प्रहरी अन्तर्गतको फरेन्सी ल्याबमा पठाउने भएको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले डिलिट भएको सीसीटीभी फुटेज रिकभर सम्भावना र उपाय बारे नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत विज्ञसँग सुझाव लिएको छ ।

समितिको बैठकमा विज्ञले डिलिट भएको सीसीटीभी फुटेज रिकभर हुने भए पनि रिकभर गर्न आधिकारिक सफट्वेयर आवश्यक हुने सुझाव दिएका थिए । अब यसलाई नेपाल प्रहरी अन्तर्गतको फरेन्सी ल्याबले अध्ययन गर्ने भएको हो । अर्थ मन्त्रालयले बजेट निर्माण गर्ने समयको फुटेज १३ दिन पछि डिलिट हुने बताएको छ । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले यसै प्रकरणका लागि राजिनामा गरेका छन् ।