अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट लेखन तयारीमा व्यस्त छ । विभिन्न क्षेत्रबाट प्राप्त सुझाव समेत ध्यानमा राखेर अर्थ मन्त्रालय बजेट लेखन तयारीमा व्यस्त भएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले जनाएको छ । अर्थ प्रवक्ता श्यामप्रसाद भण्डारीले मुलुकको आवश्यकता तथा जनअपेक्षा, उपलब्ध साधन स्रोतको सीमा र प्राप्त सुझाव ध्यान दिएर बजेट निर्माणको काम अघि बढाइरहेको जानकारी दिए । उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र उनको टिम बजेट निर्माणमा केन्द्रित रहेको सचिवालयको भनाइ छ ।
अर्थले २०८२/८३ को बजेट निर्माणबारे मन्त्रालय, विभाग, राष्ट्रिय योजना आयोग, राजनीतिक दल, जनप्रतिनिधि तथा सम्बन्धित क्षेत्रका विज्ञसँग परामर्श गरेको थियो । अर्थमन्त्री पौडेलले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल लगायतसँग परामर्श गरेका थिए । अर्थ मन्त्रालयले पूर्व अर्थमन्त्रीहरूसँग समेत परामर्श गरेको थियो ।
त्यसैगरी पूर्वअर्थ सचिवहरू, अर्थविद्हरू, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायत विषयतगत संघसंस्थासँग छलफल गरेको थियो । विकास साझेदारसँग पनि छलफल भएको थियो । बजेट निर्माण सन्दर्भमा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी, नागरिकले पनि अर्थ मन्त्रालयलाई सुझाव दिएका थिए । अर्थ मन्त्रालयले बजेटसम्बन्धी सुझाव दिन सार्वजनिक आह्वान गरेको थियो ।
सरकारको नीति तथा कार्यक्रम र बजेटका सिद्धान्त र प्राथिमकताबारे संसद्मा छलफल भइसकेको छ । बजेटका सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्र सुधार, रोजगारी सिर्जना, डिजिटल अर्थतन्त्र निर्माण, भौतिक पूर्वाधार विकास, सामाजिक सुरक्षा लगायत क्षेत्रगत प्रथामिकता राखिएको छ । १४ जेठमा संसद्मा आर्थिक सर्वेक्षण र १५ जेठमा बजेट पेस हुनेछ ।