काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ । उनले शुक्रबार एकै दिन प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेताहरुसँग छलफल गरेकी छिन् । प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग उनको भेटवार्ता भएको हो । सत्तामा केपी शर्मा ओली हावी भएको समयमा उनी मौन बसेकी थिइन् ।
पछिल्लो दिनमा चीनले खोपका माध्यमबाट प्रभाव बढाइरहेको छ । भारतले खोप रोकेर चिढाइरहेको समयमा चीनले भने नेपाललाई ठूलो मात्रामा खोप दिइरहेको छ । राजदूत यान्छीसँगको भेटमा प्रधानमन्त्री देउवाले आफू चीनसँगको सम्बन्ध प्रगाढ बनाउनु पर्ने पक्षमा रहेको बताए । चिनियाँ राजदूतले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई थप सहयोग गर्न चीन साथमै रहेको बताइन् । प्रचण्ड र एमाले नेता नेपालसँग चिनियाँ राजदूतले पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गरेको बताइएको छ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चीन र भारतबाट औपचारिक धारणा भने आइसकेको छैन ।