काठमाडौं । सरकारले नुनको मूल्य वृद्धि गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीका अनुसार कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले नुनको भाउ बढाउने निर्णय गरेको हो । यसअघि २० रुपैयाँ रहेको आयो नुनको उपभोक्ता मूल्य अब २६ रुपैयाँ प्रतिकेजी पुर्याइएको छ । थोक मूल्य प्रतिकिलो रहेको आयो नुनको अब थोक बिक्री मूल्य २३ रुपैयाँ पुर्याइएको छ ।
न्यु शक्ति नुनको भाउ किलोको थोकमा १७ र उपभोक्ता मूल्य २० रुपैयाँ पुगेको छ । भानु नुन किलो ९ रुपैयाँ पुगेको छ । राजभण्डारीका अनुसार मूल्य बढेपनि कम्पनीलाई भने अझै पनि घाटा छ । यसअघि २८ रुपैयाँ प्रतिकिलो लागतको नुनलाई कम्पनीले १८।५० रुपैयाँमा बेचिरहेको थियो । अब भने थोक बिक्रीमा २३ रुपैयाँ तोकिएको छ । यस अवस्थामा पनि कम्पनीलाई प्रतिकिलो ५ रुपैयाँ घाटा हुने उनले जानकारी दिए ।