बढ्यो प्रचण्डको दौडधुप, देउवा र बाबुरामलाई भेटे

काठमाडौं । नेकपा विभाजन गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकन प्रस्ताव दर्ता गर्न सर्वोच्च अदालत पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजबाट दौडधुप बढाएका छन् । उनले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई भेटेका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिएर फाइनल लडाईको तयारी गरिरहेका प्रचण्डले त्यसमा स्पष्ट निर्णय लिन कांग्रेस सभापति देउवालाई आग्रह गरेको बताइएको छ । कांग्रेस अनिर्णित बन्दा माओवादी केन्द्रले समेत निर्णय लिन सकेको छैन । यस अवस्थामा लामो समय संक्रमण लम्ब्याउन नहुने निष्कर्षमा प्रचण्ड पुगेका छन् ।

उनी आज देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका हुन् । भेटमा प्रचण्डले मिलेर सरकार बनाउने वा नबनाउने भन्नेबारे स्पष्ट निर्णय लिन आग्रह गरेका हुन् । देउवाले बुधबार जनता समाजवादी पार्टी (जसपा)का नेतासँग छलफलको तयारी गरेका छन् । माओवादी केन्द्रले कांग्रेसको नेतृत्व स्वीकार गर्ने यस अघि नै बताएपछि देउवा भने नेतृत्व लिन तयार देखिएका छैनन् । कांग्रेस भित्र समेत नेतृत्व लिनुपर्ने माग हावी छ । उता, जसपा भित्र भने दुई मत रहेको छ ।