बन्चरेडाँडामा चार बुँदे सहमती, बिहीबारबाट उठ्ला फोहोर ?

काठमाडौं । काठमाडौंको फोहोर बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्न भइरहेको अवरोध हटाउने बारे बुधबार सहमति जुटेको छ । काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न जारी अवरोध अन्त्य गर्ने सम्बन्धमा ४ बुँदे सहमति भएको छ ।

फोहोर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने र गत २६ जेठमा भएको सहमति कार्यान्वयन गर्दै जाने सहमति पछि फोहोरको अवरोध अन्त्य भएको हो । यो सहमतीसँगै भोलिदेखि फोहोर व्यवस्थापन सहज हुने अपेक्षा समेत गरिएको छ ।

यसअघि फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गर्ने धादिङको धुनिवेशी नगरपालिकाका सत्तारुढ दलका ३ नेतामाथि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । तर सो विज्ञप्तिलाई पनि आन्दोलनकै हिस्सा मानेर कारबाही अघि नबढाउने सहमति भएको छ । फोहोर बोकेको गाडीले लिचेड चुहाउँदै आएमा भने स्थानीयले अवरोध गर्ने छन् ।