माओवादी महाधिवेशन : प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति प्रतिवेदन पेश गरेका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् । बन्द सत्रमा नेपाली विशेषतासहितको समाजवादी मोडलको राजनीतिक प्रतिवेदन पेश गरिएको हो ।

अध्यक्ष प्रचण्डले विभिन्न सात बुँदामा ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।

स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ । बन्द सत्रमा राजनीतिक प्रतिवेदन र विधान पेश भइसकेपछि समूहमा छलफल हुनेछ ।

अध्यक्ष प्रचण्ड र नेता गुरुङको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गर्नका लागि संयोजक र सहसंयोजकको व्यवस्था गरिनेछ । समूहका संयोजकले आफ्नो समूहमा उठेका विषयलाई बन्द सत्रको हलमा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

ती प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । त्यसका लागि विष्णुपुकार श्रेष्ठ अध्यक्ष रहेको निर्वाचन आयोगले पनि आवश्यक काम सुरु गरिसकेको छ ।

जारी महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ । आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ ।

बन्दसत्रका लागि सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ। मण्डलमा कृष्णबहादुर महरा‚ गिरिराजमणि पोखरेल‚ गणेश साह‚ परशुराम तामाङ‚ पर्शुराम रम्तेल‚ पूर्णा सुवेदी र रुपा महर्जन श्रेष्ठ रहेका छन्।

बन्दशत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुनेछ। विचारको महाविधेशनको रुपमा चित्रण गरेको माओवादीको बन्दशत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन्।