काठमाडौँ, २३ असोजः खानेपानी तथा ढल व्यवस्थापन विभागले अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण देशभरका खानेपानी तथा सरसफाइ प्रणालीमा पुगेको क्षतिको विवरण सङ्कलन प्रक्रिया सुरु गरेको छ । देशका सातै प्रदेशबाट क्षतिको प्रारम्भिक विवरण सङ्कलन गरी केन्द्रमा पठाउन विभागअन्तर्गतका खानेपानी तथा ढल व्यवस्थापन कार्यालयलाई परिपत्र गरिएको विभागले जनाएको छ ।
विभागअन्तर्गत हाल देशभर १५ वटा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रहेका र ती कार्यालयले खानेपानी तथा सरसफाइ क्षेत्रमा पुगेको क्षतिको विवरण सङ्कलन गरी विभागमा पठाउन परिपत्र गरिएको महानिर्देशक ई कमलराज श्रेष्ठले जानकारी दिए । उनले भने, “बाढीपहिराले गरेको क्षतिको विवरण पठाउन हामीले सम्बन्धित कार्यालयलाई परिपत्र गरिसकेका छौँ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई पनि आ–आफ्नो आयोजनाअन्तर्गत भएको क्षतिको विवरण सम्बन्धित कार्यालयमा पठाउन आग्रह गरेका छौँ ।”
महानिर्देशक ई श्रेष्ठले सङ्कलन गरिएका विवरणलाई आधार बनाई तत्कालीन राहत तथा दीर्घकालीन पुनःस्थापनाको योजना बनाइने बताए । विशेषगरी इलाम र तराईमा बाढीपहिरोले खानेपानीमा क्षति पु¥याएको भन्दै उनले विवरण सङ्कलन भएपश्चात् प्रभावित क्षेत्रको पहिचान, क्षतिको प्रकार, अनुमानित लागत तथा पुनःस्थापनाको प्राथमिकता निर्धारण गर्न सहयोग पुग्ने धारणा राखे ।
यही असोज १८ र १९ गतेको अविरल वर्षाले पहाडी र भिरालो भू–भागमा रहेका धेरै खानेपानी स्रोत तथा वितरण प्रणालीमा गम्भीर असर पु¥याउनाका साथै पाइपलाइन बगाएका, इन्टेक संरचनामा क्षति, जलाशय ट्याङ्की माटो–ढुङ्गाले पुरेको, मोटर पम्प डुबानमा परेको, सरसफाइ उपकरणहरू क्षतिग्रस्तलगायत समस्या देखापरेका विभागले जनाएको छ ।
गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षा र बाढीपहिरोबाट खानेपानी तथा सरसफाइ क्षेत्रमा रु चार अर्बभन्दा बढीको क्षति भएको खानेपानी मन्त्रालयले जनाएको थियो ।