बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथीको आज अन्त्येष्टी गरिँदै

बैतडी । बैतडीमा बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टको आज अन्तिम संस्कार गरिने भएको नेपाली संचारमाध्यमले लेखेका छन् । परिवारले बिहान शव बुझ्ने र त्यसपछि शवयात्रासहित उनको अन्तिम संस्कार गर्ने तयारी छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया भट्टको हत्या भएको १७ औं दिनमा दाहसंस्कार गर्न लागिएको हो । यसअघि परिवारले उनको शव बुझ्न मानेका थिएनन् । हत्यारालाई कानूनको कठघरामा उभ्याउनु पर्ने भन्दै उनीहरुले शव बुझ्न मानेका थिएनन् ।

प्रहरीले बुधबार चडेपानीकै किशोर दिनेश भट्टलाई उनको हत्या आरोपमा सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका दिनेशले बुधबारसम्म भागरथीको हत्या मात्रै गरेको बयान दिएका कारण परिवार आस्वस्त हुन सकेका थिएनन् । किनकी शव परीक्षण रिपोर्टले भागरथीको बलात्कारपछि हत्या भएको उल्लेख छ । भागरथीका घरपरिवार बलात्कार गर्ने व्यक्तिको समेत खोजी गर्नुपर्ने माग राखेका थिए ।


बिहीबार दिनेशका बुवा, अनुसन्धान अधिकृत र सरकारी वकिल सामू दिनेशसँग पुनः बयान लिइएको थियो । बयानमा भने दिनेश आफैले भागरथीको बलात्कारपछि हत्या गरेको स्वीकारेका छन् । दिनेश भागरथीका नजिकका भाई पर्छन् ।

बलात्कार र हत्या आफैंले गरेको दिनेशको स्वीकारोक्तीपछि भने भागरथीका परिवार शव बुझ्न राझी भएका हुन् । माघ २१ मा विद्यालयबाट घर जान हिडेँकी भागरथी वेपत्ता भएकी थिइन् । उनको माघ २२ मा घर नजिकै रहेको स्थानीय लवलेक जंगलमा हत्या भएको अवस्थामा शव फेला परेको थियो ।