बलिउड अभिनेता आमिर खान दम्पत्तिको भयो डिभोर्स, आमिरको दोस्रो बिहे पनि असफल

मुम्बई । बलिउड अभिनेता आमिर खान र उनकी धर्मपत्नी किरण राव १५ वर्ष लामो वैवाहिक सम्बन्ध तोड्ने निचोडमा पुगेका छन । उनीहरुले एक संयुक्त वयान जारी गरि यस्तो फैसला सार्वजनिक गरेका हुन् । १५ वर्ष अगाडी विवाह गरेका उनीहरुका एक पुत्र छन् । आमिर र किरणले बयानमा सुन्दर १५ वर्ष आफुहरुबीच जीवनभरको अनुभव, खुशी र हाँसो बाँडेको बताएका छन् ।

आफुहरुको सम्बन्ध विश्वास, सम्मान र मायाका साथ अगाडी बढेको भन्दै उनहरुले अब भने जीवनमा नयाँ अध्याय शुरु गर्न चाहेको बताएका छन् । उनीहरुले अब आफुहरु पतिपत्निका रुपमा नभई एक बच्चाको आमाबुबा र परिवारका रुपमा मात्र रहन चाहेको बताएका छन् । उनीहरुले डिभोर्सको प्रक्रिया केही पहिलेबाटै शुरु गरेको समेत जानकारी गराएका छन् ।

छोरा आजादको पालन पोषण भने दुबैले मिलेर गर्ने सहमति गरेका छन् । फिल्म, पानी फाउन्डेशन र अन्य परियोजनामा समेत दुबैले संगै काम गर्ने समेत स्पष्ट पारेका छन् । उनीहरुले डिभोर्स सम्बन्धको अन्त्य नभई नयाँ शुरुवात भएको भन्दै समर्थकलाई सस्पेन्समा राखेका छन् ।

आमिरको यो दोस्रो बिहे हो । यसअघि उनको पत्नी रीना दत्तसँग सन् २००२ मा सम्बन्ध विच्छेद भएको थियो । उनीहरुबाट एक छोरा र एक छोरीको जन्म भएको थियो । कीरणसँग भने आमिरले सन् २००५ मा विवाह गरेका थिए ।