बलियो ओमानविरुद्ध नेपालको सानदार जित

काठमाडौं । बलियो टोली ओमानविरुद्ध नेपालले सानदार जित निकालेको छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ओमानलाई सात विकेटले हराएको हो । पहिलो खेलमा ओमानसँग ५ विकेटको हार बेहोरेको नेपालले आज त्यसको बदला समेत लिएको छ । नेपालले प्रतियोगितामा दुई जित र दुई हार बेहोर्यो ।

आइतबार साँझ अल अमिरात मैदानमा सम्पन्न खेलमा ओमानले पहिले ब्याटिंंग गर्दै मात्र एक सय २२ रन जोड्यो । यो लक्ष्य नेपालले १८ ओभर २ बलमा तीन विकेट मात्र गुमाएर पुरा गर्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक हाने । मल्लले ४६ बलमा अविजित ५२ रन जोडे । आसिफ शेख ४० रनको योगदान गरे ।

अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानलाई ३७ ओभर १ बलमा समेट्ने क्रममा करण केसी र सन्दीप लामिछानेले चम्किएका थिए । उनीहरुले चार–चार विकेट लिए । शरद भेषवाकरले दुई विकेट लिए । जितसँगै नेपाल आठ खेलमा आठ अङ्कसहित चौथो स्थानमा उक्लियो ।

ओमान १३ खेलमा २० अङ्कसहित शीर्ष स्थानमा कायम छ । यो लीगमा कुल सात टोली छन् । एक टोलीले कुल ३६ खेल खेल्ने छ । लिग–२ को शीर्ष तीन स्थानमा रहने देश सन् २०२३ मा जुलाईमा जिम्बावेमा आयोजना हुने विश्व कप छनोटमा भाग लिन छनोट हुनेछन् ।