काठमाडौं । वसन्तपुरको गद्दी बैठक मंगलबारबाट सर्वसाधारणका लागि खुला गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठक प्रवेशको शुभारम्भ गरे । २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको गद्दी बैठक अमेरिकी एम्वेसी फण्डले मियामोतो रिलिफको सहयोगमा पुनर्निर्माण गरिएको हो । इन्द्रजात्राको अवसरमा राष्ट्राध्यक्षसहित विशिष्ट पाहुनाहरुले मात्र प्रवेश पाउने गद्दी बैठक पुनर्निर्माणपछि सर्वसाधारणका लागि अवलोकनमा खुल्ला गरिएको हो ।
गद्दी बैठकको तल्लो तलामा प्रजातन्त्रदेखि गणतन्त्रसम्मका राजनैतिक एवं ऐतिहासिक घटनाक्रमहरु समेटेर प्रर्दशनीको व्यवस्था गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए । हनुमानढोका दरबारमा रहेका केही चोकहरु लगायत दरबारसँग सम्बन्धित १०० वर्ष अगाडिका फोटोहरु गोलघरमा प्रर्दशनी साथै गरगहानसम्बन्धी कक्ष यस अगाडि नै सर्वसाधारणका लागि खुला गरिएको थियो ।