बहराइन छिर्दा तीन पटकसम्म कोरोना परीक्षण गर्नुपर्ने

बहराइन । अब बहराइन छिर्दा तीन पटकसम्म पिसिआर परीक्षण गर्नुपर्ने भएको छ । यो नियम बैदेशिक रोजगारीमा जाने नेपालीको हकमा पनि लागु हुने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राखेर बहराइन सरकारले आफ्नो मुलुक प्रवेश गर्नेलाई कोरोना परीक्षणको दायरा फराकिलो बनाएको नेपाली दूतावासले उल्लेख गरेको छ ।

यो नियम २२ फेब्रुअरीबाट लागू हुनेछ । पहिलो पटक प्रवेश गर्ने बित्तिकै विमानस्थलमै परीक्षण गर्नुपर्नेछ । दोस्रो पटक पाँच दिनपछि तथा तेस्रोपटक १० दिनपछि पुनः पीसीआर परीक्षण गर्नु पर्ने नियम ल्याइएको छ । यद्यपि १० दिन अगावै बहराइन छोड्नेहरुको हकमा भने तेस्रो पटक पीसीआर परीक्षण आवश्यक नपर्ने दूतावासको भनाई छ ।

त्यहाँ जाने सबै यात्रुले आफ्नो मोवाइलमा ‘बीवेयर बहराइन’ एप अनिबार्य डाउनलोड गर्नुपर्नेछ । विमानस्थलमा गरिएको पहिलो परीक्षणको रिपोर्ट नआउँदासम्म ‘सेल्फ आइशोसन’मा बस्नु पर्ने नियम ल्याइएको छ ।